तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशमा सूचीकृत नभएका रेफ्री र प्रशिक्षकहरूलाई प्रशिक्षणमा रोक 

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले परिषदमा सूचीकृत नभएका रेफ्री, एम्पायर, प्रशिक्षकहरूलाई सबै प्रकारका प्रतियोगिता एवं प्रशिक्षणमा रोक लगाउने भएको छ । परिषद्का सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बुधबार पोखरामा भएको छलफल तथा बैठकले उक्त निर्णय गरेको हो । 

प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानमा आयोजना हुने तथा अन्य कुनै श्रोतबाट प्रदेश र जिल्ला तहमा आयोजना हुने प्रतियोगिता सञ्चालन पूर्व प्रदेश खेलकुद परिषदबाट स्वीकृति र सहमति लिएर सञ्चालन नगर्ने प्रतियोगितामा खेल सङ्घले कुनै टिम, रेफ्री, एम्पायर उपलब्ध नगराउने, रेफ्री समेत नजाने परिषद्ले निर्णय गरेको हो । त्यसै गरी रेफ्री, प्रशिक्षक एम्पायर, खेल प्रतियोगिता लगायत क्षेत्रमा नियमन गर्ने, सूचीकृत भएका रेफ्री, एम्पायर, प्रशिक्षक, प्राविधिकहरूबाट निवेदन दर्ता शुल्क बापत जिल्ला खेलकुद विकास समितिहरूमा प्रतिव्यक्ति  एक हजारका दरले उठेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको सदस्य सचिव शर्माले बताउनु भयो । 

प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समितिहरूले खेल संघ दर्ता गर्दा उठेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ । उक्त कोषबाट परिषद्ले खेलाडीहरूको बिमा समेत गर्ने भएको छ । विभिन्न खेलकुद संघ र पत्रकारहरूसँग बुधबार भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिवले आफ्नो पदभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा कार्य प्रगति समेत सार्वजनिक गर्नु भएको हो । परिषद्ले चालु आर्थिक वर्षका योजना, गत आर्थिक वर्षका प्रगति विवरण, निर्माण हुन लागेका दुई कार्यविधि प्रदेश खेलकुद पदक र खेलाडी कल्याण कोषको सुझाव सङ्कलन गरेको छ । 

प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै खेल सङ्घहरूलाई एकताबद्ध भएर दशौं राष्ट्रिय खेलकुदका लागि तयारी गर्नुपर्ने बताउनु भयो । प्रदेश खेलकुद विकासका लागि निर्माणको चरणमा रहेका दुई कार्यविधिले प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण रहेको बताउँदै अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावले कार्यविधि निर्माणमा दिशानिर्देश गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा परिषद्का सदस्य सचिव श्रीधर शर्माले निर्माण हुन लागेका दुई कार्यविधिले समग्र खेलकुद क्षेत्रको प्रतिनिधित्व होस भन्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

जिल्ला खेलकुद समिति र जिल्ला खेलकुद सङ्घहरू खेलकुद विकासका लागि मेरुदण्डको रुपमा रहेको बताउँदै सदस्य सचिव शर्माले खेलकुद पूर्वाधारहरू खेलाडीहरूको पहिलो अधिकारको रुपमा रहेको बताउनु भयो । खेलकुदका पूर्वाधार अझै पनि राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहनुले खेलकुद विकासमा केही अवरोधहरू झेल्नु परेको उहाँको गुनासो थियो । परिषद्का संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले धेरै चुनौतीका बाबजुद नवौं राष्ट्रिय खेलकुदमा प्राप्त भएको सफलता सबै खेल सङ्घहरूको उत्तिकै मेहनत र योगदानकै  कारणले रहेको चर्चा गर्नु भयो । परिषद्का सदस्य दिल बहादुर गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले सुझाव दिनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button