तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त राजमार्ग सुचारु हुने गरी काम गर्न मन्त्री ज्वालाको निर्देशन

धनगढी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भीमदत्त राजमार्ग सुचारु हुने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

कैलालीको बुढीतोलामा पहिरोसँगै भासिएको भीमदत्त राजमार्गको आज स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले तत्काल यातायातका सवारी साधन चल्ने गरी सडक सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसँगै महाकाली कोरिडोर, सेती लोकमार्ग, खुटिया दिपायल फाष्ट ट्रयाक लगायतको सडकलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

अनुगमनका क्रममा मन्त्री ज्वालासँगै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, मन्त्रीहरू झपट साउद, नरेशकुमार शाही, प्रदेश सभा सदस्य, सरकारी कर्मचारी लगायतको सहभागिता थियो ।

साउन २२ गते पहिरोसँगै सडक भासिदा एक साता अवरुद्ध भएको भीमदत्त राजमार्ग अहिले एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । यद्यपि, माथिबाट ढुङ्गा, माटो खस्ने गर्नाले सडक पटक पटक खुल्ने र बन्द हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार यो राजमार्ग सुचारु हुन समय लाग्ने छ । अहिले पनि डोजरको सहायताले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button