तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

वीरगञ्ज ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताउनुभएको छ ।

प्रेस चौतारी पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरण लगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उहाँको भनाइ छ । 

“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”, उहाँले भन्नुभयो, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको सामान्य कुरा समेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।” आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उहाँको भनाइ थियो । 

राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशङ्का नरहेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्ता पक्षकै कतिपय ठुला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पार्नुभयो । 

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुहुँदै ठुलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्नुहुँदै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रूपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाउनुभयो । 

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउनुहुँदै उहाँले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरी बलियो राजनीतिक शक्ति निर्माणमा अघि बढेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा एमाले सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, एमाले नेत्री तथा पूर्व मन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button