तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याजको जालो तोड्नु ठूलो सफलता : मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ ।

file photo

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामन्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममा लागिरहेको बताउनुभयो ।

‘‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौँ’– उहाँले भन्नुभयो– ‘जनयुद्धका कारण नेपालमा सारभूत रुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटर ब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौँ । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटर ब्याजीको जालो तोड्नु वर्तमान सरकारको ठूलो सफलता हो ।’

मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताउनुभयो । सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले सेवा प्रवाहलाई सहज बनाउँदै लगेको बताउनुभयो ।

मन्त्री शर्माले यसका लागि जनताबाट व्यापक रुपमा समर्थन प्राप्त भइरहेको र सरकारका कामलाई थप स्थापित गर्नुपर्ने बोध गरी पार्टीले शुरु गर्न लागेको तीन महिने विशेष रूपान्तरण अभियानमा कटिबद्ध हुन नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरू निरीह र कमजोर बन्नुपर्ने र उल्टै यसले केही गर्न सकेन भन्ने बुझाई स्थापित हुने, तडकभडक र भड्किलोपनलाई शक्तिशाली देख्ने प्रवृत्ति स्थापित भएको उल्लेख गर्दै उहाँले जो जुन जिम्मेवारीमा छ, उसले इमानपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने सन्देश पनि वर्तमान सरकारले स्थापित गर्न खोजेको बताउनुभयो । भ्रष्टाचार गरेपछि एक न एक दिन कारबाहीको भागिदार बन्नैपर्ने तथ्य स्थापित हुन थालेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी प्युठानका नेता कार्यकर्ताले सरकारलाई भ्रष्टाचार विरुद्धको अभियानमा आफ्ना, अरू नभनी अझै बढी निर्मम बन्न सुझाव दिए । उनीहरूले सरकारका कामलाई गाउँ गाउँमा प्रशंसा गरिएको भन्दै खोलिएका ठूला भ्रष्टाचारका फाइल टुङ्गोमा पुर्‍याउँदा सुशासनको पक्षमा देश नयाँ ठाउँमा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यकर्ताका जिज्ञासामा जवाफ दिँदै मन्त्री शर्माले प्रधानमन्त्रीले आफ्नो पार्टी र परिवारभित्रकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने अठोट लिएको सुनाउँदै सबै छानबिनले पूर्णता पाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button