तपाईँ सुन्दै हुनुहुन्छः

मटिहानीमा ११० फिटको राष्ट्रिय झण्डा फहराइयो

बर्दिबास । महोत्तरीको मटिहानीमा ११० फिटको अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । मटिहानी नगरपालिकाले वडा नं ७ मटिहानीस्थित तस्मैया बाबा पार्कमा जडान गरिएको राष्ट्रिय झण्डाको आज समुद्घाटन गरिएको हो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उक्त झण्डाको समुद्घाटन गर्नुभएको हो । त्यसअघि उहाँले लक्ष्मीनारायण मठमा पूजाआजासाथै मठको अवलोकन गर्नुभएको थियो । उहाँले लक्ष्मीसागर पोखरीमा भगवान् लक्ष्मीनारायणको आरती समेत गर्नुभयो ।

उपराष्ट्रपति यादवको नागरिक अभिनन्दनको कार्यक्रम समेत रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । नेपालकै जेठो राजकीय संस्कृत मावि.को निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख मण्डलले बताउनुभयो ।

झण्डा समुद्घाटन कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरु अभिराम शर्मा, रानी शर्मा तिवारी, शारदादेवी थापा, जयनुल राईन, महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button