तपाईँ सुन्दै हुनुहुन्छः

अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट (भिभिआइपी) र विशिष्ट (भिआइपी) व्यक्तिहरू विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताउनुभयो । उहाँले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उहाँले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिब १० अर्ब थपेको सुनाउनुभयो ।

समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उहाँले दस प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाउनुभयो । 

“कुनै बेला यही वीर अस्पतालले १० महिनासम्म कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था खेपेको थियो ।” उहाँले भन्नुभयो, “अहिले उत्साहजनक रूपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरूको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले असल अभिभावको भूमिका खेल्नेछु ।” 

कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गर्नुभएको थियो ।

हाल वीर अस्पतालका सात शय्या विपन्नका लागि निःशुल्क गरिएको छ ।  ओपिडी सेवा बिहान ०८ बजेदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आइसियुको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाउनुभयो ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शय्या सञ्चालन हुन थाले पनि सोअनुसार बजेट वृद्धि हुन नसकेको बताउनुभयो । चालु आर्थिक वर्षमा अस्पतालका लागि रु ७३ करोड मात्र बजेट विनियोजन छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button