तपाईँ सुन्दै हुनुहुन्छः

मंसिरमा महासमिति बैठक गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले आगामी मंसिरमा पार्टीको महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको एक सातासम्म चलेको बैठकले पार्टीको महासमिति बैठक मंसिर ११, १२ र १३ गते काठमाडाैंमा गर्ने निर्णय गरेकाे हाे ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक बोलाइएको बताउनुभयो । नेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको भए पनि पार्टीको विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था नरहँदा महासमिति बैठक बोलाइएको नेपाली काग्रेसले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेकोमा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन पनि सरकारसँग माग गरेको छ । यस्तै कांग्रेस बैठकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहने बताएको छ ।

तर भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका पूर्वमन्त्री बालकृष्ण खाँणको सवालमा पार्टीले कुनै निर्णय नलिएपछि पार्टीका महामन्त्री गगन थापाले भने बैठकमा फरक मत राख्नुभयो । पार्टीले राष्ट्रपति र संघीय सरकारसँगै सातवटै प्रदेश सरकारमा आफ्नो समर्थन र सहभागितामा बनेको वर्तमान सरकारले थालेको कदमलाई समर्थन गर्दै जनताको मन छुने गरी काम गर्न पार्टीका तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

कांग्रेसले यही साउन २० गते देखि पार्टीलाई क्रियाशील बनाउन गाउँ–जिल्ला देखि केन्द्रसम्म विभिन्न अभियानहरू समेत सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै कांग्रेसले किसानलाई मल बीउ समयमै उपलब्ध गराउन, लम्पि स्किन रोगको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी रूपमा अगाडि बढ्न सरकारसँग माग गरेको छ । यस्तै बैठकले सहकारी लघुवित्त र मिटर ब्याजबाट पीडितहरूको समस्या समाधानका लागि विशेष पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै बैठकले विगतमा निर्वाचनका क्रममा पार्टीका उम्मेदवारविरुद्ध उमेद्‌वारी दिई कारबाहीमा परेका विभिन्न नेता कार्यकर्ताहरूको कारबाही फिर्ता लिएको पार्टीले जनाएको छ ।

बैठकको समापनका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आ–आफ्ना विचार र सुझाव राखी पार्टीलाई अझ बढी चलायमान र लोकप्रिय बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभयो । सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताको माग र भावनाअनुसार पार्टीलाई अझ बढी स–शक्त बनाउनेगरी सुरु गरिने अभियानहरूमा सबैको प्रभावकारी सहभागिता रहने र यसबाट पार्टी पंक्तिलाई ऊर्जा प्राप्त हुने बताउनुभयो ।

यस्तै सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी असोज २ गते बस्ने जानकारी पनि गराउनुभयो । बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीलाई जीवन्त बनाउने गहनतम सुझावहरू बैठकका क्रममा आएका र त्यस्ता सुझावहरूको कार्यान्वयन गरी फरक अनुभूति दिनेगरी पार्टी अगाडि बढ्ने बताउनुभयो । नेपाली कांग्रेसले यसपालिदेखि केन्द्रीय कार्यसमिति बैठकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button