तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । 

एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिनुभयो । 

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटक पटक रोकिएको काठमाडौँ उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ ।  

नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहर व्यवस्थापन गर्न नदिने स्पष्ट पार्नुभयो । धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको एकवर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहर व्यवस्थापनमा रोक लगाइएको बताउनुभयो ।    

यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताउनुहुन्छ । 

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापनमा रोक लगाएपछि फोहरमैला व्यवस्थापन सङ्घले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । 

अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहर उक्त स्थानमा लाने गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button