तपाईँ सुन्दै हुनुहुन्छः

रसुवागढी नाकाबाट २९ अर्ब रुपैयाँ बराबरको सामान आयात

रसुवा। नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

चीनतर्फ निर्यात भएका मालवस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिनुभयो ।

यस नाकाबाट दश लाख केजी दाँतेओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चश्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कवापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

सवारी साधनतर्फ चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको अधिकांश उपकरण रसुवागढीबाट आयात हुने गरेको सूचना प्रविधि अधिकृत निर्मल कँडेलले बताउनुभयो ।

व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढीरहेको जनाइएको छ । कोरोना सङ्क्रमणपश्चात गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ–काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।

नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ । वर्षायामको बाढीपहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ ।

यद्यपी भन्सार विभागले तोकेको लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व सङ्कलन भएको छ । रु नौ अर्ब ३८ करोडको लक्ष्य राखिएकोमा गत आवमा आठ अर्ब २४ करोड ८३ लाख मात्र असुली भएको छ । यो लक्ष्यको प्रतिशत ८८ मात्र हो ।

चीनबाट आयात भएका जुत्तालगायतका माल सामग्री लोड भएका दुई सयभन्दा बढी ट्रक कन्टेनरको सामग्री व्यापारीद्वारा गत वर्ष जाँच पास गराउन बाँकी राख्दा राजस्व असुली कमी भएको बताइएको छ ।

गत वर्ष २०७९/८० को राजस्व असुली भने छ अर्ब ५५ करोड रहेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा राजस्व असुलीमा केही कमी हुँदै गएको छ । तत्कालीन कार्यालय प्रमुख रामप्रसाद रेग्मी कार्यरत रहँदा आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब २७ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७७/७८ मा तीन अर्ब ५४ करोड २७ लाख राजस्व मात्र असुली भएको जनाइएको छ । भन्सार कार्यालयले गत आवमा व्यापारीबाट २९ करोड जरिवाना असुलिएको छ ।

व्यापारीले आयात गरेका माल सामग्री जाँच पास गर्नु पूर्व गरिएको घोषणा परिमाणको विवरणमा तथ्य फरक पर्ने र लेखिएका र कन्टेनरमा भेटिएका परिमाणमा फेरबदल पार्ने गरेका कारण जाँचकीको प्रतिवेदन एवं नियमको प्रवधान अनुरूप जरिवानाको राजस्व असुल उपर गरिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार हातामा रोजगारीको अवसर

चीनबाट आयात भएका माल सामग्री जाँच परीक्षणका क्रममा लोड अनलोडका काममा छ सय १० जना मजदुरले काम पाइरहेको भन्सार अधिकारीले जनाएका छन् । सवारी साधनतर्फ रसुवागढी नाकामा छ सय ट्रक कन्टेनरका चालक तथा छ सय सहचालक संलग्न रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनीको ट्रक एकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिनुभयो । तातोपानी नाकामा कार्य गर्ने चालक तथा सहचालक रसुवागढी केन्द्रित भएको बताइएको छ ।

चीनको उत्पादक कम्पनीदेखि केरूङ तथा रसुवागढीसम्म नेपाली व्यापारी व्यवसायीले माग गरेको माल सामग्री ढुवानी गरिरहेको र नेपालीको हितमा आफूले निरन्तर रूपमा सहयोग गरी रहने चिनियाँ ढुवानी सेवा मुसा टान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले बताउनुभयो । भन्सार तथा सीमा सुरक्षाका लागि टिमुरेमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button