तपाईँ सुन्दै हुनुहुन्छः

‘डिजेल भण्डारण गृह निर्माणले ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ’

कविराज खनाल/रासस

पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगन गौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजेल भण्डारण गृहको आज उद्घाटन गर्दै मन्त्री रिजालले यस डिपोमा विस्तारित भण्डारण क्षमताबाट अन्य क्षेत्रले पनि फाइदा लिन सक्ने बताउनुभयो ।

मन्त्री रिजालले इन्धन भण्डारण गृह निर्माणले ऊर्जा पूर्वाधार विकास तथा देशको उड्डयन क्षेत्रलाई थप प्रगतिको पथमा अघि बढाउने एउटा महत्त्वपूर्ण घडीको सुरुआत भएको बताउनुभयो ।

पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि कार्यले औद्योगिक विकासलाई अगाडि बढाउन, नागरिकहरूको जीवनस्तर सुधार गर्न तथा नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले धारणा राख्नुभयो ।

निगमले उक्त स्थानमा निर्माण गरेको १० हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण र २४ हजार किलोलिटर क्षमताको पानी ट्याङ्कीको आज उद्घाटन गरिएको हो । निगमले करिब रु ८९ करोड लगानीमा उक्त भण्डारण गृह निर्माण गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button