तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन आज सुरु भएको छ । नगर सभाको १३ औँ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८ ०/०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक वर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।

बजेट वक्तव्य वाचन गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरूबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रममा विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नुभयो । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दै आजको बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । थप छलफल गर्न अर्को बैठक बोलाइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button