तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री सिंह दम्पतीको आज सामूहिक अन्त्येष्टि गरिने

बझाङ ।जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उहाँकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टि गरिने भएको छ । बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिबार) आज अन्त्येष्टि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजं‌गबहादुर सिंहले बताउनुभयो । डडेलधुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मङ्गलवार मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो ।

मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मङ्गलवार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जीप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिंहको शव मङ्गलवार राती नै धनगढी ल्याएर बुधबार धनगढी रङ्गशालामा अर्पण पश्चात् हेलिकप्टर मार्फत् गृह जिल्ला बझाङ ल्याइएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button