तपाईँ सुन्दै हुनुहुन्छः

ड्रागन बोट रेस फेस्टिभल भोलि देखि पोखरामा हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा भोलि देखि ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । शनिबारसम्म पोखरामा सञ्चालन हुने उक्त फेष्टिभलको अन्तिम तयारी पुरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । 

पोखरा लेकसाइडको क्याम्पिङचोकमा मुल समारोह हुने भएको छ भने उक्त प्रतियोगिता फेवातालमा हुने भएको उहाँले बताउनु भयो । दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना हुन लागेको उक्त बोट रेसमा सहभागी हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागिता हुने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

नेपालको तर्फबाट ४ र अन्य विदेशी ४ गरी ८ टिम बिच प्रतिस्पर्धा हुने पूर्व तयारी गरे पनि नेपालका ५ समूहले प्रशिक्षणमा सहभागी हुँदै आएकोले बिहीबार छनौट चरणबाट एक टोली बाहिरिएको छ । बेगनास ताल ढुङ्गा व्यवसायी समिति छनौट चरणबाट बाहिरिएको उक्त प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले बताउनुभयो । नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी हुने भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो । 

प्रतियोगिता अन्तर्गत शुक्रबार र शनिबार २ सय र ५ सय मिटरमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको उहाँले बताउनु भयो । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । रेश सँगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत गरिने भएको छ । बिहीबार पोखरामा अन्य टिमले भने अभ्यास खेल प्रदर्शन गरेका छन् । 

उक्त प्रतियोगितामा सहभागी टिममा १२ जना खेलाडीहरू हुन्छन् भने एक जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरूले ढुङ्गा खियाउँदै आफ्नो निर्धारित दुरी पार गर्न प्रतिस्पर्धा गर्नुहुने छ । प्रतियोगितामा गत बर्ष अष्टेलियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय वोट रेसमा प्रथम भएको सिंगापुरको ड्रागन्स समूहले पोखरामा हुने उक्त प्रतियोगितामा सहभागी भएको हो । यस टिमका कप्तान भने मिलिङ रहनु भएको छ भने उहाँको टिममा ५ जना महिला खेलाडीहरू सहभागी हुनेछन् । 

नेपाल र चीनबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागेको नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले बताउनु भयो । नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिवन दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको उहाँको दाबी छ । प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठ वटा विशेष खालका बोट जेठ तेस्रो साता पोखरा ल्याई पोखरामा सफल परिक्षण भएको छ । 

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य संस्थाहरूसँगको सहकार्यमा उक्त वोट रेस सहित फेष्टिभल हुन लागेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button