तपाईँ सुन्दै हुनुहुन्छः

संघीय बजेटको उपेक्षामा रारा ताल जाने सडक र कर्णाली प्रतिष्ठान 

जुम्ला । मुगु स्थित रारा ताल नेपालकै आकर्षक पर्यटकीय गन्तव्य हो । नेपालकै सबैभन्दा ठुलो प्राकृतिक रारा ताल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा छ । तर पर्यटकीय पूर्वाधारको अभावले पछिल्लो वर्षमा रारामा आउने पर्यटकको सङ्ख्या घट्दै गएको पाइन्छ । रारा जाने मुख्य पर्यटकीय मार्ग नाग्म–गमगडी सडक हो । करिब एक दशक पहिलादेखि सञ्चालनमा आएको उक्त सडक स्तरवृद्धि नहुँदा हिउँदमा हिलाम्य र बर्खामा धुलाम्य हुने गरेको छ । 

जसका कारण रारा आउने पर्यटकले सास्ती पाउने र सडककै कारण देखाउँदै फेरी फर्केर रारा नआउने गरेका छन् । नाग्म–गमगडी सडकको दुरावस्थाको प्रत्यक्ष असर रारा तालको पर्यटन प्रर्बद्धनमा देखिएको छ । सडक स्तरवृद्धि नहुँदा रारा आउने पर्यटक मात्र घटेका छैनन् । दुर्घटनाको जोखिम समेत बढेको छ । 

मुलुककै ठुलो रारा ताल पर्यटकको रोजाइमा परेपनि त्यहाँ पर्यटक बढाउन आवश्यक पूर्वाधार निर्माण सरकारको प्रथामिकतामा परेको छैन । सोमबार सार्वजनिक सङ्घीय सरकारको बजेटमै रारा जाने नाग्म–गमगडी सडक उपेक्षामा परेको छ । 

रारा ताल जाने एकमात्र पर्यटकीय मार्ग नाग्म–गमगडी सडक सङ्घीय बजेटको प्रथामिकतामा पर्ने आशा थियो । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो,“बजेटमा रारा जाने सडकलाई उपेक्षा गरेको पाइयो । एकातिर पर्यटक बढाउने लक्ष्य लिने अर्कोतिर पर्यटकीय पूर्वाधार निर्माण बेवास्ता गर्ने सरकारको दोधारे चरित्रले कर्णाली पछि परेको हो । तत्काल जुम्ली सांसदहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुपर्छ ।”

सोमबार सार्वजनिक सङ्घीय सरकारको बजेट वक्तव्यको बुँदा नं. १८० मा सन् २०२३–२०३२ लाई पर्यटन दशक मनाउने र २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याउने उल्लेख छ । 

१० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने नाग्म–गमगडी सडकलाई बेवास्ता गर्नु साविक कर्णालीका लागि दुखद पक्ष भएको अध्यक्ष धितालले उल्लेख गर्नुभयो । 

त्यस्तै मृत्यु मार्गका रुपमा परिचित कर्णाली राजमार्ग स्तरवृद्धिका लागि पनि ठोस बजेट विनियोजन भएको छैनन् । स्तरवृद्धि गरिने उल्लेख भएपनि ठोस अङ्कमा बजेट नहुँदा राजमार्ग स्तरबृद्धि पनि सरकारको प्रथामिकतामा नपरेको हो । 

कर्णाली प्रतिष्ठान अहिले पनि उपेक्षामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा बन्दै गएको छ । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले बितेको एक दशकमा कर्णालीलाई स्वास्थ्य,शिक्षा र अनुसन्धानमा अब्बलता मात्रै देखाएको छैन । विगतमा उपचार नपाएर मृत्युवरण गर्ने कर्णाली अहिले डाक्टर उत्पादन गर्न सक्षम छ,भन्ने गतिलो सन्देश पनि दिएको छ ।

तर संघीय सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई वर्षेनिक बजेटमा उपेक्षा गर्दै आएको छ । दुर्गम कर्णालीका दुरदराजमा विशेषज्ञ स्वास्थ्य सेवा पुराई राज्यको अनुभूति दिलाएको प्रतिष्ठानलाई सरकारले सौतेनी व्यवहार गर्दै आएको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु सभापति महेन्द्र हमाल बताउनुहुन्छ  । 

उहाँले भन्नुभयो,“कर्णाली प्रतिष्ठानले पश्चिम नेपालकै स्वास्थ्य भरोसा केन्द्र बनिरहँदा यसको वृद्धि विकास सरकारको प्रथामिकतामा पर्नुपर्ने हो । तर कर्णाली प्रतिष्ठानलाई बजेट दिनुको सट्टा सुर्खेतमा पनि मेडिकल कलेज स्थापना गरिने सरकारको नीतिले कर्णाली प्रतिष्ठानलाई कमजोर बनाउने षड्यन्त्र हो । यसमा सबै सचेत हुनुपर्छ ।”

यद्धपी, बजेट वक्तव्यको बुदाँं नं.२४३ मा कर्णाली प्रतिष्ठान अन्तर्गत दैलेखको रकममा एकसय शय्याको स्याटेलाईट अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइने उल्लेख छ । तर बजेट छैन । 

एमबीबीएस, एमडी, एमडीजीपि लगायत करिब एक दर्जन बढी कार्यक्रम सञ्चालन गरिरहेको कर्णाली प्रतिष्ठान अहिले पनि भाडाकै घरमा चल्न बाध्य छ । प्रतिष्ठानका शैक्षिक तथा प्रशासनिक ३६ वटा निर्माणाधीन भवन बजेट अभावले अलपत्र अवस्थामा छन् । 

समस्याका बीचपनि कर्णालीसहित १३ जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको छ । तर सङ्घीय सरकारले विगतको जस्तै आगामी आवको बजेट पनि कर्णाली प्रतिष्ठानलाई उपेक्षा गरेको प्रति कर्णालीवासी रुष्ट भएका छन् । 

यससाथै कर्णाली प्रदेशका तीन दर्जन योजना बजेटमा समेटीएपनि अङ्कमा बजेट भने छुट्याएको छैन । पुरानै योजनालाई निरन्तरता दिएपनि विगतकै योजना निर्माण अघि नबढाउने कर्णालीवासी नयाँ योजना अघि बढ्नेमा ढुक्क छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button