तपाईँ सुन्दै हुनुहुन्छः

विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न उद्धार अभ्यास 

राजबिराज । विपद् व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी र नगरपालिका बीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुबिधा नहोस् भन्ने उद्देश्यका साथ आज डाक्नेश्वरी नगरपालिका–५ रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।

डाक्नेश्वरी नगरपालिकाको आयोजनामा भएको  विपद् प्रतिकार्य अभ्यासमा  सशस्त्र प्रहरी बल राजबिराज , सशस्त्र प्रहरी बल पातो र डाक्नेश्वरी नगरपालिकाको पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो  । 

सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भूकम्प, बाढी पहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो ।  टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, ड्राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, बाढीबाट प्रभावित समुदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास समेत गरिएको थियो ।

कार्यक्रम पश्चात् नगरपालिका मेयर रामलखन मलाहले सीमित श्रोत र साधनका बाबजुद  सशस्त्र  प्रहरीले उद्धार कार्यमा उच्च निपुणता देखाएको र विपद् व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका  तत्पर रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक बाल कृष्ण  श्रेष्ठले आगलागी, भूकम्प, डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफूसँग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउने जस्ता अभ्यास गरिएको स्पष्ट पार्नुभयो ।

अभ्यास कार्यक्रममा संविधान सभा सदस्य  ताराकान्त चौधरी, डाक्नेस्वरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) बिनय कुमार सोनु, सशस्त्र प्रहरी तथा नगरपालिकाको अधिकारीहरू लगायत सञ्चारकर्मीहरू र पाँच हजारभन्दा बढी स्थानीयवासीहरु समेतले अभ्यासको अवलोकन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button