तपाईँ सुन्दै हुनुहुन्छः

बाङ्गेसीमल खोलामा तटबन्धन निर्माण 

सुर्खेत । बस्ती कटान हुनबाट जोगाउन सुर्खेतको बाङ्गेसीमल खोलामा तटबन्धन निर्माण गरिएको छ । खहरे खोलामा तटबन्धन नहुँदा स्थानीय महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई आउन–जान सहज हुनुका साथै नजिकै रहेको बस्तीलाई भूक्षयको जोखिमबाट बचाउन तटबन्धन निर्माण गरिएको हो । 

उत्थानशील नगरका लागि सामूहिक पहल योजनाको सहयोगमा तटबन्धन निर्माण भएपछि अहिले खोला किनारका बस्तीको सुरक्षा कबज मात्र होइन, सामान्य हिँडडुल गर्न समेत सहज भएको छ । उज्ज्वल भोलिका लागि उत्थानशील पूर्वाधार निर्माणमा जोड दिँदै आएको नेपाल रेडक्रस सोसाइटी सुर्खेतको पहलमा उत्थानशील नगरका लागि सामूहिक पहल योजनाको ३ लाख, वीरेन्द्रनगर नगरपालिका–२, नम्बर वडा कार्यालयको ३ लाख र १ लाख ३ हजार २ सय ४० रुपैयाँ समुदायको जनश्रमदानबाट तटबन्धन निर्माण गरिएको उत्थानशील नगरका लागि सामूहिक पहलका जिल्ला परियोजना अधिकृत मायाकुमारी सापकोटाले जानकारी दिनु भयो । 

उहाँले तटबन्धन निर्माणमा स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितासँगै स्थानीय सीप, स्रोतसाधन एवं गरिबिको रेखामुनि रहेका नागरिकलाई केही दिनको रोजगारी समेत उपलब्ध गराइएको बताउनुभयो । वर्षातमा भल आएको बेला बाहेक अन्य समयमा ओल्लो–पल्लो टोल आउन–जान अहिले सहज हुनुका साथै बस्ती कटान हुनबाट जोगिएको तटबन्धन निर्माण उपभोक्ता समितिका सचिव गायत्री कँडेलले बताउनु भयो । 

उहाँले सरोकारवालासँग अब तटबन्धन निर्माणपछि खोलामा पक्की पुल निर्माण भइदिएको भए समुदायलाई ठूलो राहत पुग्ने जनाउनु भयो । बाङ्गेसीमल खोलाले वर्षेनी बस्ती कटान गर्ने र वर्षातको भेलमा ठूलो समस्या झेल्नु परेको स्थानीय बासिन्दाको दुखेसोपछि तटबन्धन निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले बताउनुभयो । 

उहाँले उच्च विपद् जोखिम रहेका क्षेत्रहरूको पहिचान, रोकथाम नियन्त्रण, तथा व्यवस्थापनमा रेडक्रसले सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको जनाउनु भयो । उहाँका अनुसार सम्भावित विपद् तथा जलवायुजन्य परिवर्तनको जोखिम कम गर्न अहिले रेडक्रस सचेतनामूलक कार्यमा समेत जुटेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button