तपाईँ सुन्दै हुनुहुन्छः

१० महिनामा २ लाख ६३ हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमे

चितवन । चालु आर्थिक बर्ष ०७९/८०  मा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ६३ हजार बढी पर्यटक भित्रिएका छन् । चालु आवको साउन देखि वैशाख सम्मको अवधिमा निकुञ्जमा स्वदेशी र विदेशी गरी २ लाख ६३ हजार ८०६ जना पर्यटक भित्रिएका हुन् । 

सबैभन्दा बढी पर्यटक कार्तिकमा, सबैभन्दा कम भदौमा 
निकुञ्जको तथ्याङ्क अनुसार  चालु आवको कार्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् भने सबै भन्दा कम भदौमा भ्रमण गरेका छन् । जसअनुसार कार्तिकमा ४२ हजार ६४१ जनाले भ्रमण गरेका थिए भने भदौ महिनामा ८ हजार ८८० जनाले निकुञ्जको भ्रमण गरेका थिए । 

यस्तै साउन महिनामा ९ हजार ६९१, असोजमा २६ हजार १६ जना, मङ्सिर महिनामा २२ हजार ८ जना र  पुस महिनामा ३१ हजार ९५३ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसैगरी माघ महिनामा २३ हजार ६४७, फागुन महिनामा २९ हजार १९६ , चैत्र महिनामा ३४ हजार ४८९ जना र वैशाख महिनामा ३७ हजार २८५ जनाले भ्रमण गरेको निकुञ्जले जानकारी दिएको छ । 

पर्यटकले निकुञ्ज प्रवेश शुल्क, जीपसफारी लगायतका गतिविधि गरेबापत शुल्क बुझाउनु पर्ने हुन्छ । निकुञ्जमा नेपाली प्रति पर्यटक शुल्क १५० रुपैंया, सार्क देशका पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैंया र अन्य देशका पर्यटकका लागि प्रति व्यक्ति दुई हजार रुपैंया प्रवेश शुल्क तोकिएको छ । 

१९ करोड ३९ लाख राजश्व सङ्कलन 
चालु आव १० महिनाको अवधिमा पर्यटकबाट निकुञ्जले १९ करोड ३९ लाख बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन देखि वैशाख महिनाको अवधिमा १९ करोड ३९ लाख ३२ हजार २५० रुपैंया राजश्व सङ्कलन गरेको छ । कार्यालयले पर्यटकको निकुञ्ज प्रवेश शुल्क र जीपसफारी लगायतको शुल्कबाट आम्दानी गर्ने गरेको हो  ।  

सो अवधिमा सबैभन्दा बढी कार्तिकमा २ करोड ६३ लाख ४८ हजार पाँच सय र सबभन्दा कम साउनमा ४८ लाख ७ हजार तीनसय रुपैंया राजश्व सङ्कलन गरेको छ । यसैगरी निकुञ्जले भदौ महिनामा ५१ लाख ३ हजार तीनसय ,असोज महिनामा १ करोड ३६ लाख ४८ हजार पाँच सय, मंसिरमा १ करोड ४२ लाख ७३ हजार २५० र पुस महिनामा १ करोड ४५ लाख ५८ हजार दुईसय सङ्कलन गरेको छ । 

यस्तै निकुञ्जले माघ महिनामा ९१ लाख २ हजार २५० रुपैंया, फागुनमा १ करोड ६१ लाख ४५ हजार २५०, चैत्र महिनामा २ करोड ४१ लाख १८ हजार ५५० रुपैयाँ र वैशाख महिनामा २ करोड ५२ लाख ७९ हजार सातसय रुपैंया सङ्कलन गरेको जानकारी दिएको छ । निकुञ्जले सो अवधिमा जीप सफारीबाट मात्रै ४ करोड १८ लाख ९ हजार पाँच सय रुपैंया सङ्कलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले पर्यापर्यटनबाट मात्रै निकुञ्जले उक्त राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो । ‘यो पर्यापर्यटनबाट मात्रै आम्दानी भएको राजश्व हो । निकुञ्जले अन्य स्रोतबाट पनि आम्दानी गर्छ,  उहाँले भन्नुभयो, बिशेषगरी वर्षायाममा कम पर्यटक हुन्छन् र जीप सवारी पनि बन्द हुन्छ र  राजश्व पनि कम उठ्छ । सिजनमा पर्यटक पनि बढ्छन् र राजश्व पनि बढ्छ ।’ 

निकुञ्जले अन्य शीर्षकबाट पनि आम्दानी गर्दै आएको छ । जस अनुसार १० महिनाको अवधिमा निकुञ्जले काठ ,दाउरा बिक्री बापत ७ लाख १८ हजार ४०२ रुपैंया, गैह्र काष्ठ वन पैदावर बिक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैंया, दण्ड जरिवाना बापत ८ लाख २२ हजार ३९ रुपैंया अन्य शीर्षकबाट १५ लाख २९ हजार रुपैंया राजश्व सङ्कलन भएको छ । यी सबै शीर्षक गरी निकुञ्जले चालु आवको १० महिनामा जम्मा २४ करोड ४९ लाख ४६ हजार ८६० रुपैंया राजश्व सङ्कलन गरेको तिवारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button