तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाट नगरद्वारा कृषि उपज बिक्री केन्द्र सञ्चालन

नवलपरासी । बर्दघाट नगरपालिकाले किसानहरूले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले बुधबार उपज केन्द्रको एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भयो  ।

बर्दघाट नगरपालिका कृषि क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले किसानबाट उत्पादित अन्न तथा तरकारीहरूको सहज बिक्री होस भन्ने उद्देश्यले उपज केन्द्रको स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । ‘बिक्री केन्द्र नहुँदा किसानका उत्पादन बारीमै कुहिने अवस्था रहेको थियो, किसानको पसिनामा बिचौलियाको रजगज पनि उत्तिकै थियो, किसानको यही मर्मलाई बुझेर हामीले यो केन्द्र सञ्चालनमा ल्याएका हौँ’, नगरप्रमुख श्रेष्ठले भन्नुभयो । ग्रामीण क्षेत्रमा कृषिमा नै आधारित रहेर जीविकोपार्जन गर्ने किसानलाई यसले व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र किसानले उचित मूल्य पाउनेमा नगरप्रमुख श्रेष्ठले विश्वास ब्यक्त गर्नुभयो । कृषि क्षेत्रको विकास बिना नगर समृद्ध नहुनेमा उहाँको जोड थियो। कृषकहरुका लागि मल बिउ बिजनको समेत उचित प्रबन्ध मिलाइने नगरले जनाएको छ।

बर्दघाट नगरपालिकाका विभिन्न वडाहरूलाई विविध बालिको कृषि पकेट क्षेत्र घोषणा गरिए पनि उचित बजारीकरणको अभावमा किसानका उपज खेर जाने अवस्था रहेको थियो भने लगानी समेत डुब्ने अवस्था रहेको थियो ।

नगरपालिकाले उपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरेपछि किसान उत्साहित बनेका छन् । ‘कहाँ लगेर बेच्ने होला ? मूल्य नपाइने होकी ? भन्ने चिन्ता थियो अब हाम्रो उत्पादनले बजार पाउनेमा ढुक्क छु’, बर्दघाट १२ का किसान कर बहादुर कार्कीले भन्नुभयो ।

किसानहरूले बिक्री केन्द्र सञ्चालनको पहिलो दिन आलु,प्याज,काक्रा,गोलभेँडा,फर्सी,लौका जस्ता तरकारीहरू  ल्याएर बिक्री गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button