तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह 

चैनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको छ । 

बझाङ जिल्लाका विभिन्न ठाउँहरूको अवलोकन तथा भ्रमण गर्न बझाङ आइपुग्नुभएका मुख्यमन्त्री शाहले लामो समयपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो 

जिल्लाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्दै उहाँले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन नदिन समेत विचार पुर्‍याउनुपर्ने बताउनुभयो । 

“प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोकसेवालाई समेत छिटोछरितो बनाई कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ ।”, उहाँले भन्नुभयो । 

बझाङ जिल्ला जलस्रोत, जडीबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अगाडी बढ्ने उल्लेख गर्नुहुँदै विगतका वर्षहरूमा योजना किनबेचका कुराहरू आएकाले अब त्यसो नहुने बताउनुभयो । उहाँले योजनाहरू प्रक्रियागत रुपमा महत्त्वपूर्ण योजनाहरू स्थानीय तहबाट छनोट गरी पठाउन समेत जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । 

उहाँले योजनामा कुनै बिचौलिया, दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । उहाँले योजनाका नाममा बदमासी गर्न खोजेमा कसैलाई पनि छुट नहुने बताउनुभयो । 

अहिलेसम्म कृषि अनुदानको नाममा अनुदान लिएका व्यक्तिहरूको नाम समेत सार्वजनिक गर्नुपर्ने र कर्मचारीहरूलाई काम गर्ने सिलसिलामा अन्याय भए आफूलाई सम्झन पनि मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो । 

मुख्यमन्त्री शाहले बझाङमा पुगेर ताक्लाकोट सडक लगायतका विभिन्न योजनाहरूको समेत अनुगमन गर्नुभएको छ । 

मुख्यमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी, प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश(ख)का प्रदेश सभा सदस्य पदम शाही पनि बझाङ आइपुग्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button