तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह रोक्ने प्रतिबद्धतासहित बालिका सम्मेलन सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा दुई दिने बालिका सम्मेलन बालविवाहको प्रभावकारी नियन्त्रण तथा रोकथाम सहितका ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा लाईफ नेपालको समन्वय र युनिसेफ, यूएनएफपिए, गल्सफष्ट फन्ड सहितका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूको सहयोगमा भएको प्रदेश बालिका सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको वैशाख १७ गतेलाई बालविवाह विरुद्धको दिवस मनाउने घोषणालाई समर्थन गर्दै घोषणापत्रमा समेटिएको छ ।

मधेश प्रदेशमा बालविवाह ४० प्रतिशत भन्दा बढी भएका कारण वैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने घोषणा मुख्यमन्त्रीले सम्मेलनको उद्घाटनमा उद्घोष गर्नु भएपछि त्यसलाई बालिका सम्मेलनले अनुमोदन गरेको छ ।

घोषणा पत्रमा “बेटी पढाऊँ–बेटी बचाऊँ” अभियानलाई थप सुदृढ गरी स्थानीय तहसम्म विकास तथा विस्तार गर्दै बालविवाह अन्त्यका लागि पैरवी गर्ने, लैङ्गिक विभेद र हिंसा अन्त्य गर्न प्रदेश तथा स्थानीय तहमा आवश्यक कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने उल्लेख छ ।

समापन कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मधेश प्रदेशमा बढ्दो बालविवाह रोक्न तथा बालविवाहप्रति जनचेतना बढाउन सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बालविवाह रोक्नका लागि प्रदेश सरकार सबै प्रकारका नीति अवलम्बन गर्न तयार भएको बताउनुभयो ।

मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रञ्जित कुमार यादवले बालविवाह रोक्नका लागि प्रदेश सरकार गम्भीर भएको बताउँदै सम्मेलनले पारित गरेको ६ बुँदे घोषणापत्र कार्यान्वयन गरिने बताउनुभयो ।

घोषणापत्र कार्यान्वयनका लागि मधेश प्रदेशका ८ जिल्लाका बालिकाहरूले संयुक्त रुपमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रञ्जित कुमार यादवलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button