तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले क्षतिग्रस्त कर्णाली राजमार्गको ‘नाग्म–रारा खण्ड’ कालोपत्रे हुँदै

जुम्ला । गत बर्ष असोजमा आएको बाढी पहिरोले क्षतिग्रस्त कर्णाली राजमार्गको ‘नाग्म–रारा खण्ड’को सडक कालोपत्रे तथा स्तर वृद्धिको काम द्रुत गतिमा भइरहेको छ । 

दुई वटा ठेक्कामार्फत राजमार्ग कालोपत्रे तथा सडक चौडा गर्ने काम भइरहेको छ । ठेक्का नं. ५ मार्फत सडक चौडा तथा टेवा पर्खाल निर्माणको भइरहेको छ । भने ठेक्का नं.६ मार्फत राजमार्गको जोखिम भागलाई छिचोलेर कालोपत्रे भइरहेको हो । 

सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले कर्णाली राजमार्गको नाग्म–रारा खण्डको २ किलोमिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ । असोजको बाढीले सडककै निसानानै थिएन् । कार्यालयको जोड र निर्माण व्यवसायीको सक्रियताले कालोपत्रे भएको हो ।”

‘महादेव खिम्ती अन्जना खड्का जेभी’ काठमाडौँले ३ करोड ८० लाख १९ हजार १५९ रुपैयाँमा ठेक्का सम्झौता गरी कालोपत्रेको काम गरेको थियो । 

हाल कालोपत्रे कामको भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ । केही दिनमै काम सकिने निर्माण व्यवसायी सुमन खड्काले बताउनुभयो ।

नाग्म जुम्ला खण्डको दुई किमी सडक चौडा बनाइँदै
कर्णाली राजमार्ग अन्तर्गतकै नाग्म–रारा खण्ड सडकलाई चौडा बनाइँदै छ । 

गत असोजको बाढी पहिरोले साँघुरिएको सडकलाई चौडा बनाउन लागिएको हो । आव २०७८÷७९ को ठेक्का नं. ५ मार्फत नाग्म–रारा खण्डको २ किमी सडक चौडा बनाउने,नाला निर्माण गर्ने,टेवा पर्खाल लगाउने लगायतको काम धमाधम भइरहेको सडक डिभिजन जुम्लाका सव–इन्जिनियर विरेन्द्र रावलले बताउनुभयो  । 

उहाँले भन्नुभयो, “गत असोजको बाढी पहिरो सडक निकै साँघुरिएको थियो । सवारी आवतजावतमा उस्तै समस्या थियो । गत आव ०७८ को असोजमा कार्य सम्झौता भएको उक्त कामको भौतिक प्रगति हालसम्म ६० प्रतिशत भएको छ । बाँकी ४० प्रतिशत कालोपत्रेको मात्रै काम बाँकी छ ।”

उहाँका अनुसार सडक चौडा तथा टेवा पर्खाल निर्माणका लागि थोदुङ कन्स्ट्रक्सन प्रा.ली काठमान्डौसंगै ४ करोड १५ लाख ९३ हजार ९५१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नाली निर्माण,पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । अब कालोपत्रे गर्ने तयारी हुँदै छ । 

गत बाढीले क्षतविक्षत भएको सडकलाई कालोपत्रे गर्दा यात्रा सहज हुने आशामा नागरिक छन् । 

बाढीले सबैभन्दा बढी क्षतिग्रस्त क्षेत्र नाग्म–रारा खण्डको कालोपत्रे तथा सडक चौडा बनाउन सडक डिभिजन सँगै निर्माण व्यवसायीले देखाएको सक्रियता प्रति नागरिक अगुवा राजबहादुर महतले खुसी व्यक्त गर्नुभयो । 

त्यसका साथै नेपालकै ठुलो रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकको ५ किमी सडकको स्तर वृद्धिसँगै कालोपत्रे काम अघि बढेको सव–इन्जिनियर रावलले जानकारी दिनुभयो । 

हाल सडक चौडा बनाउने,पर्खाल लगाउने नाला बनाउने लगायतको काम धमाधम भइरहेको छ । आगामी २०८१ पुस सम्म नाग्म–गमगडीको रोकायाबाडादेखि हाँटसिंजा सम्मको ६ किमी सडक कालोपत्रे गरी सक्ने सम्झौता भएको छ । 

सडक चौडा, पर्खाल निर्माण, नाली निर्माण र कालोपत्रे गर्नेसहित ‘थोदुङ बासना जेभी’सँगै ३५ करोड ४५ लाख ४८ हजार ८७२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 

गत असोजको बाढीले सबैभन्दा बढी क्षति भएको नाग्म–रारा खण्ड तथा नाग्म गमगडी सडक खण्ड कालोपत्रे सँगै चौडा र स्तर वृद्धिको काम धमाधम भएपछि जुम्लाबासी खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button