तपाईँ सुन्दै हुनुहुन्छः

एकिकृत विकास योजनाका लागि सुझाव सङ्कलन गर्दै सुनापति

काठमाडौं । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले एकिकृत विकास योजना निर्माणका लागि सुझाव सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पूर्व सन्ध्यामा आगामी पाँच वर्षभित्र पालिकाले विकास निर्माणका योजनाहरू निर्माण गर्न संघ तथा प्रदेशका माननीयहरू, पालिकाभित्रका विज्ञ, पूर्व जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरूसँग बृहत् अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी सुझाव सङ्कलन गरेको हो ।

पालिकालाई आउट डोर म्युजियमको अवधारणामा विकास गर्ने, कृषि र पशुपंक्षिजन्य खाद्यान्नको आयत न्युनिकरण गरी आत्मनिर्भर बनाउने, बेरुजु शून्य बनाउने, आद्यौगिक ग्राम स्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, स्वास्थ्य युवा मानसिकताको सामाजिक विकासमा परिचालन गर्ने, शैक्षिक गुणस्तरका लागि शहर केन्द्रित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्ने जस्ता विषयमा सुझाव सङ्कलन गरेको छ ।

पालिकाले हिजो भक्तपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कमल प्रसाद चौलागाईँ, पूर्व गृहराज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य डिल्लीमान तामाङ, प्रतिनिधिसभाका सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम), प्रदेश सभाका सदस्यहरु युवराज चौलागाईं, तारानारायण श्रेष्ठ, पालिकाका पूर्व अध्यक्ष धावा लामा, राजनीतिक दल र अन्य सरोकारवालाहरुले पालिकाको योजनालाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पालिका अध्यक्ष ठूलो कान्छा तामाङले समृद्ध सुनापति बनाउने अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा सरोकारवालाहरूको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदीले सम्भावित एकिकृत विकास योजना प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गिता विष्टले कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button