तपाईँ सुन्दै हुनुहुन्छः

हेमा जोशी: समाजशास्त्रमा स्वर्ण, आधा दर्जन पुस्तक लेखन

महेन्द्रनगर I कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयबाट नेपाली र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी भीमदत्त नगरपालिका–१८ का हेमा जोशीले दुई वर्षमा सोही विश्वविद्यालयमा अध्यापन हुने आधा दर्जन पुस्तक लेख्नुभएको छ । 

कम उमेरमै विद्यावारिधिमा  अनुसन्धानरत (नेपाली शिक्षा) रहनुभएकी २६ वर्षीया विद्यार्थी उहाँले दुई वर्षमा आठवटा पुस्तक लेखिसकेको बताउनुभयो ।

केही दिनअघि समाजशास्त्रमा विश्वविद्यालयको दीक्षान्त समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट स्वर्ण पदकसमेत प्राप्त गर्नुभएकी जोशीले विद्यावारिधिपछि शैक्षिक क्षेत्रमै सक्रिय हुने योजना रहेको बताउनुभयो ।

सामान्य पारिवारिक अवस्थाकी  जोशीले ‘नेपाली भाषा शिक्षा’ सह लेखन पहिलो पुस्तक दुई वर्षअघि लेखेको जानकारी दिनुभयो । अहिले उहाँको ‘सामाजिक संस्था र प्रक्रियाहरूको विश्लेषण पुस्तक’ स्नातकोत्तर तहमा अध्यापन हुन्छ । जोशीले भन्नुभयो, “ती पुस्तकबाट १५ देखि २० प्रतिशत रोयल्टीबापत पारिश्रमिक मिल्छ ।”

उहाँले लेख्नुभएको ‘भाषा सञ्चार र प्रविधि’, उक्त विश्वविद्यालयको स्नातक तहको आठौँ सेमिष्टरमा अध्यापन हुन्छ । अध्ययन र पुस्तक लेखनसँगै भविष्यमा विद्यावारिधि सकेर शिक्षण पेसामा सक्रिय रहने योजना जोशीले बनाउनुभएको छ । 

उहाँ प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत हुँदा खेलकुद क्षेत्रमा पनि अब्बल हुनुहुन्थ्यो । सुदूरपश्चिम विश्वविद्यालयबाट चारवटा प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता खेलेको अनुभव जोशीले सुनाउनुभयो । “ ब्याडमिन्टनमा एकलतर्फ रजत पदकसम्म जितेँ”, उहाँले भन्नुभयो, “कोरोनाका अवधिमा अम्पायरको तालिम पनि लिए ।” 

अध्ययनमा अब्बल उहाँले आफूलाई निजी विद्यालयबाट शिक्षण पेसाका लागि मौकाहरू आएको जानकारी दिनुभयो । “जागिरको अफर आएको थियो”, जोशीले भन्नुभयो, “अझै पनि पुस्तक लेखनलाई नै निरन्तरता दिन्छु ।”

नेपाली सेनाको जम्दार पदबाट सेवा निवृत्त बुवा र गृहिणी आमाकी छोरी उहाँले कक्षा १० सम्मको अध्ययन लक्ष्मी मावि खैरभट्टीबाट र उच्च माध्यमिक शिक्षा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसबाट गर्नुभएको थियो ।

भाषा शिक्षकको पेसागत उन्नयनको अवधारणा (सह लेखन २०७९), नेपाली भाषा र साहित्य शिक्षण (सह लेखन २०७९) प्राज्ञिक लेखन (एकल २०७९), भाषा सञ्चार र प्रविधि (एकल २०७९)सहित आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । 

जोशीका  नेपाली भाषा, साहित्य, भाषा, शिक्षण, लोक साहित्यलगायत क्षेत्रमा अनुसन्धानात्मक समसामयिक सन्दर्भ तथा विज्ञ समीक्षित लेखहरू तथा साहित्य विषयक लेखहरू प्रकाशित छन् ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा केन्द्रीय क्याम्पसका जोशीसँगै आठजना दीक्षित भएकामा दुई छत्रा र छ छात्र थिए  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button