तपाईँ सुन्दै हुनुहुन्छः

आँखा शिविरमा ३९ जनाको शल्यक्रिया, सात सयको उपचार

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरमा सात सय जनाको उपचार भएको छ भने ३९ जनाको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको केन्द्र अन्नपूर्णमा दुई दिने शिविर सञ्चालन भएको हो ।

गाउँपालिकामा रहेको अन्नपूर्ण बागधन रणदिपा माध्यमिक विद्यालयमा दुई दिन सञ्चालित शिविरमा आँखा परीक्षण र शल्यक्रिया सेवा सञ्चालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । शिविरमा सात सय जनाले उपचार सेवा पाएको र ३९ जनाको आँखा शल्यक्रिया गरिएको प्रमुख तामाङले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा शिविर आयोजना भएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका डाक्टर प्रिति अग्रवाल लगायतको टिमले सेवा प्रदान गरेको थियो । आगामी दिनमा पनि दुर्गम जिल्लाका नागरिकको सेवामा लागिरहने डा. अग्रवालले बताउनुभयो ।

शिविरमा पालिका भित्रका ९ वटै वडा र जिल्लाका अन्य नागरिकहरूले सेवा लिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

यसअघि साल्पासिलिछो गाउँपालिकामा सञ्चालित शिविरमा पनि सात सय बढीको उपचार र ४२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button