तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई खोजिँदै

नेपालगञ्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई घर–घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोज्न सुरु गरिएको हो । वैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरूलाई घर–घरमा पुगेर खोज्न थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो । ‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी गर्‍यौँ, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका छौँ, चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरूको लाइन लिष्टिङ गर्छौँ, त्यसपछि खोप लगाउँछौँ,” बस्नेतले भन्नुभयो– “वडा स्तरदेखि नै छुट बच्चाहरूको खोजी गर्ने र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले हामी घरधुरी सर्वेक्षणमा जुटेका छौँ ।” युनिसेफको सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि गरिरहेको बस्नेतले बताउनुभयो । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सम्पन्न भएको छ ।

नियमित खोप छुट बच्चाहरू, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइएको थियो । उक्त कार्ययोजना अनुसार घरधुरी सर्वेक्षण भइरहेको छ । कार्यशालामार्फत पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गरिएको छ । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित पनि गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । यसअघि नै पूर्ण खोप घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकालाई वैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button