आधुनिक गीत प्रतियोगितामा ममता गुरुङ प्रथम

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गर्नु भएको छ ।
गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको तारा टिपेर माला लाउँछु बोलको गीत गाउनुभएको थियो ।
प्रतियोगितामा पाँचथरकी मुना ठटाल द्वितीय र भक्तपुरका सरोज परियारले तृतीय स्थान हासिल गर्नुभयो ।

ठटालले डिपी खनालको शब्द रचना र शङ्कर थापा स्माईलको सङ्गीत रहेको कति लाए मनमा मल्हम बोलको गीत गाउनुभएको थियो भने परियारले पनि खनालको शब्द रचना र थापाकै सङ्गीत रहेको बन्द भो त्यो आवाज बोलको गीत गाउनुभएको थियो ।
प्रतियोगितामा स्वेता मैनाली उत्कृष्ट गीतकार घोषणा हुनुभएको छ भने खड्ग गन्धर्व उत्कृष्ट सङ्गीतकार घोषित हुनुभएको छ ।
वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव नेत्रप्रसाद सुवेदीले गीत सङ्गीतले व्यक्ति,परिवार, समाज र राष्ट्रलाई सह मार्गमा डोर्याउनुका साथै चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सहसचिव सुवेदीले प्रतियोगितालाई निष्पक्ष र बस्तुनिष्ठ तुल्याउँदै सबैको सार्थक सहभागिता र अपनत्व हुने गरि काम गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)का कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल नेपाली गीत सङ्गीतको जननी भएको भन्नुहुँदै गीत सङ्गीतको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धनमा रेडियो नेपालको योगदान उल्लेख्य रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक केसीले रेडियो नेपालले बहुलताको सम्बोधन गर्दै सबै भाषा,संस्कृति, धर्म, जात, पेशा, लिङ्ग, क्षेत्र र सम्प्रदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख रमेश पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्