तपाईँ सुन्दै हुनुहुन्छः

टेलिभिजनहरू युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालसँग डराउनुपर्दैन : अध्यक्ष ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब र टिकटकलगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरू डराउनु नपर्ने बताउनुभएको छ । 

आज बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको साधारण सभामा अध्यक्ष ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताउनुभयो ।

“टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु”, ओलीले भन्नुभयो, “उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरू व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरू टिमवर्कमा चलेका हुन्छन्, सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।”

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रसारण शुरु भएको उल्लेख गर्नुहुँदै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने बताउनुभयो ।

२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आई नसकेको बताउनुभयो ।

उहाँले पाल्पाको रानीमहल दरबार ऐतिहासिक धरोहर भन्दै यसबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्नुहुँदै आफू प्रधानमन्त्री हुँदा रानी महलसहित एक सय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गर्नुभयो । 

उहाँले रानी तेजकुमारीको स्मरणमा खड्कशमशेरले बनाएकोले यसको नाम रानी तेजमहल बनाउनुपर्ने बताउनुभयो । “रानीमहल त कसको हो कसको भन्ने पर्छ नि, तेजकुमारीको नाममा बनाएकाले यसको नाममा तेज जोडिनु पर्दछ, सबैले यसलाई यही भनेर बुझौँ।” ओलीले भन्नुभयो ।

मिसन ग्रासरुट अभियानमा लुम्बिनीका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही जिल्लामा रहनुभएका उहाँ आजै रुपन्देहीको अभियानलाई सम्बोधन गरेर काठमाडौँ फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button