तपाईँ सुन्दै हुनुहुन्छः

८२ बर्षीय वृद्धको खुकुरी प्रहारबाट हत्या

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीमा ८२ बर्षीय वृद्धको खुकुरीले हानेर हत्या गरिएको छ । स्थानीय लिसेखानी टोलमा बस्दै आएका ८२ वर्षीय वृद्ध शमशेर बहादुर थापामगरको सोमबार साँझ ७ बजेको समयमा खुकुरी प्रहारबाट हत्या भएको हो ।

दुइ नातिनीसहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरि भागेका थिए । खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको रामेछाप प्रहरी प्रमुख डिएसपी गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

केही दिन अघि बिरामी भएर श्रीमती उपचारको लागि काठमाडौँ गएकाले वृद्ध दुई नातिनीका साथ घरमा बस्दै आएका थिए । नातिनीहरू घर बाहिर निस्किएको मौकाछोपि वृद्ध माथि खुकुरी प्रहार भएको थियो । कस्ले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केही नखुलेको भएपनि प्रहरीले मृतकका आफ्नै छोरालाई भने पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताउनु भयो ।

घटना रहस्यमय भएकोले हामीले प्रदेश प्रहरी कार्यालय हेटौडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाई सकेकाले चाँडै अपराधी पत्ता लाग्ने विश्वास पनि प्रमुख पराजुलीले बताउनु भयो । अनुसन्धानका लागि रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा टोली खटिई रहेको छ ।

यसै गरि करिब २ महिना अघि बेताली ४ कै भिमसेनथानमा ७६ वर्षीया वृद्धा पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शङ्कास्पद शव फेला परेको थियो । उक्त घटनाको संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पहिचान गर्न नसकेपछि बेताली र सिङ्गो गोकुलगंगा गाउँपालिका नै आतङ्कित बनेको छ ।

दुवै घटना एकै गाउँका र नजिकै नजिकैको मितिमा घटेकोले आफूहरूका लागि पनि अपराधी पत्ता लगाउने कुरामा चुनौती थपिएको प्रमुख पराजुलीले बताउनु भयो । उहाँले भन्नु भयो –‘त्यसैले पनि हामीले थप अनुसन्धानका लागि तालीम प्राप्त कुकुर झिकाएका हौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button