तपाईँ सुन्दै हुनुहुन्छः

चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो

वीरगञ्ज । श्रद्धा, भक्ति र सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्व सोमबार सूर्य भगवान् र छठी माताको पूजा आराधना गरि मनाइँदै छ । वीरगञ्जमा रहेका छठघाटहरुमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । अर्घ चढाएपछि दर्शनार्थीहरु छठ घाटबाट फर्किएका छन् ।

वीरगञ्ज लगायत बारा, पर्सा, रौतहट जिल्लाहरूमा आज चैती छठ पर्व भव्य रुपमा मनाइँदै छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइएको छ । वीरगञ्जको घडिअर्वा पोखरी सहित विभिन्न पोखरी, तलाउ, नदी किनारमा पुगेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएसँगै भोलि बिहान मङ्गलवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत् समापन हुने गर्दछ । कात्तिकमा मनाइने छठ पर्व जतिकै सङ्ख्यामा श्रद्धालु भक्तजन नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरुको सङ्ख्या समेत तराई मधेशमा बढ्दै गएको छ ।

चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा स्नान गरी अर्घ चढाइएको छ ।

सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै व्रतालुहरू जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, भुसुवा, मुला, उँखु, भन्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । व्रतालुहरू आज रातभर जागरण बसी भोलि चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुने चलन छ ।

चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा हुने तथा छालाजन्य रोग नलाग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button