तपाईँ सुन्दै हुनुहुन्छः

चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष पेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई पत्र बुझाइएको छ । 

संविधानको धारा १६८को २ अनुसार चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले हस्ताक्षर गरी प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन् । हस्ताक्षर गर्नेमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । 

आजै माओवादीका तीनजना मन्त्रीहरूले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जना भए बहुमत पुग्छ । केन्द्रमा भएको गठबन्धन अनुसार प्रदेशमा पनि नेकपा एमालेको सरकार ढालेर ८ दलले सरकार बनाउन लागेका हुन् । प्रदेश सभाका १० दलमध्ये राप्रपाले ८ दललाई साथ दिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button