तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाअघि नै बुटवलका सबै योजनाहरूको काम सम्पन्न गर्न निर्देशन

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका भित्रका मुख्य मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसहित बुटवल उपमहानगरपालिकाको टोलीले आज चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने संघ, प्रदेश र बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माणाधीन योजनाहरूको अनुगमन गरेको थियो ।

प्रमुख पाण्डेयले बुटवलको गोलपार्कदेखि योगीकुटीसम्मको सडक क्षेत्र, योगीकुटीदेखि कालिका पथ क्षेत्र, योगीकुटीदेखि रानीगञ्जसम्मका सडक, अभियान पथको पर्खाल र निर्माणाधीन योजनाहरूको अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई सचेत गराउनुभयो ।

उहाँले निर्माण शुरु गरेर निर्माण गर्नुपर्ने अवधिभित्र पूरा गर्नेलाई पुरस्कृत गर्ने र समयमा निर्माण पूरा नगर्ने कम्पनीलाई दण्डित गरिने बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले बुटवलभित्र निर्माण हुने संरचनाको काम समयमै सम्पन्न गर्नका लागि संघ र प्रदेश सकारलाई समेत ताकेता गर्न आग्रह गर्ने र समयमा पूरा हुनसक्ने गरी बजेट विनियोजन भएका योजनाहरू समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस गर्ने बताउनुभयो ।

उपमहानगरपालिकाले तिनाउ नदी किनार क्षेत्रको अनुगमन गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि नियमित अनुगमन गर्न टोली खटाएको छ ।

बुटवलतर्फको नदी किनार क्षेत्रबाट चोरी निकासी बढेको पाइएको र सीमावर्ती स्थानीय तहहरूमा निर्माण भइरहेका संरचना र निर्माण कम्पनीहरूको समेत निगरानी गर्ने र स्थानीय तहहरूसँग छलफल गरेर नियमनमा ल्याउने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

उहाँले नदीजन्य पदार्थको चोरी निकासी रोक्ने र आगामी वर्षामा बाढी र कटान रोक्नका लागि सुरक्षित बनाउने गरी काम गर्न योजना महाशाखा र विपद् शाखालाई निर्देशन दिनुभयो ।

प्रमुख पाण्डेयले नगर प्रहरी सहितको टोलीले नियमित रुपमा निगरानी गर्ने र चोरी निकासी रोक्नका लागि स्थानीयको समेत साथ आवश्यक रहने बताउनुभयो । उहाँले जिल्ला र नगरको सुरक्षा निकायलाई समेत चोरी निकासमा थप संवेदनशील बन्नका लागि आग्रह गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button