तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरु

रुपन्देही । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि श्रोत व्यवस्थापनसम्बन्धी प्रदेश सभा सदस्यहरूको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको सभापतित्व तथा मुख्यमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा शुरु भएको अभिमुखीकरण कार्यक्रम दुई दिन सञ्चालन हुने आयोजक प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ योजना र कार्यक्रम लक्षित गरिएको बताउनुभयो।

लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताउनुभयो । मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकासका लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले दिगो विकास लक्ष्य पुरा गर्न सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरि काम गरिने बताउनुभयो ।

विपक्षी दलका नेता दिल्ली चौधरीले नेपालको लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन नसकेको बताउनुहुँदै मुख्य लाभान्वित वर्ग सम्म कार्यक्रम लैजान सुझाव दिनुभयो ।

युनडिपिका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्य अनुसार काम गर्न नीति निर्माताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा युवराज खतिवडा, अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले अभिमुखीकरणमा सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button