तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर राजवंशी र कँडेल सम्मानित

मोरङ । नेपाल खेलकुद महासङ्घ मोरङले नेपालका क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई विराटनगरमा नगदसहित सम्मान गरेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य द्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजारसहित सम्मान गर्नुभएको हो ।

अध्यक्ष बस्नेतले राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतले खेलाडी राष्ट्रकै गौरव भएकाले उनीहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष रोशन बहादुर सिंह र राजवंशीका बुबा आमालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button