तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले गर्ने लगानीबाट उत्पादकत्व वृद्धि हुनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानीबाट उत्पादकत्व वृद्धि हुनुपर्नेमा जोड दिनुभएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयुक्त लगानीमा विराटनगर–१७ रानी भन्सार १ नं गेट क्षेत्रमा निर्माण हुन लागेको आकाशे पुल र स्वागत द्वारको शिलान्यास गर्नुहुँदै उहाँले सरकारले निर्माण गर्ने संरचना र परियोजनाले उत्पादकत्वमा वृद्धि हुनुका साथै लगानीमैत्री वातावरण तयार हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँच वर्षभित्र हुने विकासका कार्यको जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने पाउने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईँले प्रदेशमा विकासका कार्यले गति लिन शुरु गरेको भन्नुहुँदै कोशी प्रदेशको विविधतालाई झल्को दिने गरि स्वागत द्वार निर्माण हुने प्रष्ट पार्नुभयो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले विराटनगरलाई नयाँ नगरको रुपमा अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो ।

शहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र तथा नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारको ७०, महानगरको २५ र उद्योग सङ्गठनको पाँच प्रतिशत गरी कुल ६ करोड २५ लाख २४ हजार रुपैयाँको लागतमा पुल र स्वागत द्वार निमार्ण हुन लागेको हो । आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र उक्त संरचना सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button