तपाईँ सुन्दै हुनुहुन्छः

हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताउनुभएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्न सक्ने परिस्थिति आउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढ इच्छा शक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ । हामीलाई असफल हुने छुट छैन । अत्यन्त ढिलो भइसकेको छ, हामीलाई अब पनि थप समय लिने छुट पनि छैन ।”

यसअघिको सम्झौताअनुसार न्यूनतम साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दामा इमानदारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।”

सदन चलेको दिनलाई उत्सवका रुपमा लिने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले संसद्मा छलफल हुने विषयप्रति जनतालाई उत्सुकता र जानकार बनाउन बनाउन सक्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button