तपाईँ सुन्दै हुनुहुन्छः

आलुको लागि आकाशे पानी कुर्दै किसान 

दोलखा । दोलखाको शैलुङस्थित झोर र मनगाँउका किसानहरू यतिबेला आकाशे पानीको प्रतीक्षामा दिन कटाउने गर्छन् । 

आलु खेतीको लागि उर्वर शैलुङ गाउँपालिका वडा नम्बर ८ को झोर र मनगाँउका किसान पानीको अभावमा आलु बिग्रने हो की भन्ने चिन्ताले पिरोलिएका छन् । 

“आलुको बोट भर्खर टुसाउँदै छ, माघ देखिनै पानी चाहिने जमिन फागुन सकिन लाग्दा समेत सुख्खा बनेकोले आलु उत्पादन घट्ने चिन्ताले पिरोलिएका छाँै”– शैलुङको मनगाँउका किसान सविन श्रेष्ठले भन्नुभयो । 

“अघिल्ला बर्सहरूमा पुसदेखि नै हिमपात पनि भएको थियो र पानी पनि परेको थियो, तर यो बर्ष न हिमपात भयो, न पानी नै पर्‍यो”, सविनले भन्नुभयो । 

पानी र हिमपात नभएपछि जमिन सुख्खा बनेकोले आलु बिग्रने सम्भावना धेरै छ । चैत्रको पहिलो हप्तासम्म जमिन भिज्ने गरी पानी पर्‍यो भने आलु उत्पादन राम्रै होला, नभए यो बर्ष उत्पादन घट्ने सविनको भनाई छ । 

शैलुङ्को झोर र मनगाँउबाट मात्र वर्षमा चार करोडभन्दा बढीको आलु काठमाडौँ लगायतको बजारमा निर्यात हुने गरेको छ । समयमै पानी परेन भने यो बर्ष आलु उत्पादन आधानै कम हुनसक्ने सविनको चिन्ता छ । 

शैलुङको झोर र मनगाँउका झण्डै दुई सय किसान व्यवसायीक आलु खेतीमा सक्रिय रहेकोमा अधिकांश किसानको आलु बारी पारिलो ठाउँमा रहेकोले समयमै पानी नपर्दा उत्पादन घट्ने चिन्ता देखिएको झोरका किसान दिपेश श्रेष्ठ बताउनुहुन्छ । 

झोरको केही किसानहरूको आलु बारी सेप्जीलो ठाउँमा भएकोले पानी नपर्दा पनि खासै समस्या हुँदैन तर अधिकांशको बारी पारिलो ठाउँमा भएकाले चैत्र पहिलो हप्तासम्म पनि पानी नपरे उत्पादन घट्ने दिपेशको भनाई छ । 

आलुलगायत विभिन्न तरकारी खेतीमा सक्रिय झोर र मनगाँउका झण्डै दुई सय घरधुरीका किसानहरू आलु उत्पादनबाट मात्रै वर्षमा डेढ देखि १०÷१२ लाखसम्म कमाउने गर्छन् । आलुको सिजन सकिएपछि झोर र मनगाँउमा काउली र बन्दाको खेती समेत राम्रो हुने स्थानीयको भनाई छ । 

झोरका स्थानीय लालबहादुर श्रेष्ठ अहिले सबै किसानको बारीमा आलुको बिरुवा राम्रोसँग टुसाएकोले चैत्र पहिलो हप्तासम्म पानी पर्‍यो भने यो बर्ष आलु उत्पादन राम्रो हुने बताउनुहुन्छ । 

“असिना पर्‍यो भने आलु बिग्रने चिन्ता हुन्छ तर जमिन भिज्ने गरी पानी पर्‍यो भने हिमपात नभएपनि आलु राम्रो हुन्छ”, लालबहादुरले भन्नुभयो । 

झोर र मनगाँउका किसानहरू आलु प्रतिधार्नी ८० देखि एक सय २० रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन् । बिउको आलु भने एक सय ४० रुपैयाँ सम्ममा बिक्री हुने गरेको सविनको भनाई छ । 

आलुको सिजनमा काठमाडौँबाटै व्यापारीहरू झोर र मनगाँउका किसानको घर– घरमै पुग्ने भएकोले बजारको भने समस्या नभएको स्थानीय बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button