तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरले विस्तार गर्‍यो कम्पोष्ट मल बनाउने कार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ ।

यसअघि टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान वञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी कामपाको छ । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिना लाग्ने र टेकुका ती दुई स्थानका काम सफल भए उपत्यकाको अन्य स्थानमा पनि विस्तार गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

पटक पटक कुहिने फोहर व्यवस्थापन गर्न समस्या झेलिरहेको कामपालाई विभिन्न स्थानमा कम्पोष्ट मल बनाउने कार्य विस्तार भएसँगै फोहर व्यवस्थापनको लागि सहज हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button