तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारण सभा शुरु

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ वार्षिक साधारण सभा शुरु भएको छ । साधारण सभाको उद्घाटन गर्दै वरिष्ठ साहित्यकार एवं समालोचक डा.ध्रुवचन्द्र गौतमले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले देशकै उद्योग वाणिज्य क्षेत्रमा छुटै पहिचान बनाएको र मुलुकको अर्थतन्त्रको मियो वीरगन्जले हाँकेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य अजय चौरसियाले आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधानका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई समृद्ध, सफा र सुन्दर बनाउने अभियानमा महानगरसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल, कार्यकारिणी सदस्य उमेश डालमिया, हेमराज ढकाल, गोपाल केडिया, उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका गतिविधिलाई सहयोग पुर्‍याएको भन्दै वीरगञ्जका सञ्चारकर्मी कविता खड्का, राधेश्याम पटेल र राम सर्राफलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसअघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि ३५ जना कार्य समिति सदस्य निर्विरोध चयन भएका छन् ।

फागुन २९ गते कार्य समिति सदस्य पदका लागि तोकिएको निर्वाचन गर्नु अगावै सबै पदमा निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

फागुन ३० गते पदाधिकारीको निर्वाचन गर्ने मिति तय भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खरेलले जानकारी दिनुभयो ।

कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी निर्वाचित गर्ने प्रावधान रहेको छ । अध्यक्ष भने वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष स्वतः हुने उद्योग वाणिज्य सङ्घको विधानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button