तपाईँ सुन्दै हुनुहुन्छः

इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डन वार्ता

अम्मान। इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उहाँका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी पश्चिमी किनाराको हुवारामा भएको गोलीकाण्डमा दुई इजरायली नागरिकको मृत्यु भएको बताउनुभएको छ ।

जोर्डनको सरकारी प्रसारक अल–मामलकाले रेड सीको रिसोर्ट अकाबामा भएको बैठक ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय सहभागिताका साथ प्यालेस्टाइनी र इजरायलीहरूबीच वर्षौंमा यस प्रकारको पहिलो बैठक’ भएको र यसले ‘प्यालेस्टिनी क्षेत्रको स्थिति’ लाई सम्बोधन गर्ने बताएको छ ।

इजरायली सरकारका एक अधिकारीले नाम नबताउने शर्तमा आफूहरूको प्रतिनिधिमण्डलमा राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बी र शिन बेट घरेलु सुरक्षा निकायका प्रमुख रोनेन बार रहेको जानकारी दिनुभयो ।

इजरायली अधिकारीका अनुसार एक महिनाभन्दा कम समयमा सुरु हुने रमजान महिनाभन्दा अगाडि नै यस क्षेत्रमा सुरक्षा तनाव कम गर्ने उपायबारे प्रतिनिधिमण्डलले छलफल गर्नेछन् ।

प्यालेस्टिनी गुप्तचर निकायका प्रमुख माजेद फराज पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक ब्रेट म्याकगर्कका साथै जोर्डन र इजिप्टका सुरक्षा अधिकारीहरू पनि त्यहाँ उपस्थित थिए ।

राजा अब्दुल्लाह द्वितीयले म्याकगर्कलाई भेटेर प्यालेस्टाइनी भूभागमा शान्ति कायम गर्न, तनाव कम गर्न र स्थिरतालाई अस्थिर पार्ने र शान्ति प्राप्त गर्ने सम्भावनालाई कमजोर पार्ने कुनै पनि एकतर्फी कदम रोक्न प्रयासलाई तीव्र बनाउने महत्वमा जोड दिनुभएको थियो ।

वार्ता ‘धेरै चरणहरूमा सहमति’ को साथ समाप्त भएको बताउनुभएको छ ।

इजरायल र प्यालेस्टाइनबीच बढ्दो अशान्तिलाई लिएर अन्तर्राष्ट्रिय चासोका बीच आइतबारको बैठक भएको हो ।

जोर्डन सरकारका एक अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार वार्ताको उद्देश्य ‘विश्वास निर्माण गर्नु’ र ‘प्यालेस्टाइनी जनताको कठिनाइ कम गर्न सुरक्षा र आर्थिक उपायहरू’ मा सहमति जनाउनु हो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button