तपाईँ सुन्दै हुनुहुन्छः

कूल कुष्ठ रोगीमध्ये ४० प्रतिशत मधेश प्रदेशमा

जनकपुरधाम । मधेश प्रदेशमा कुष्ठ रोगीको सङ्ख्या निक्कै बढी रहेकाले यसको खोजपड्ताल तथा उपचारमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रियामा रोगलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

“कुष्ठ रोग अन्त्यका लागि आजैबाट पहल गरौँ” भन्ने मूल नारासहित यस वर्षको कुष्ठरोग दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको बेलामा मधेश प्रदेशमा रोगीको सङ्ख्या ४० प्रतिशत हुनु चिन्ताको विषय भएको विज्ञहरूले बताउनुभयो । नेपालमा हाल पहिचान भएका २ हजार २ सय ८५ कुष्ठ रोगीमध्ये मधेश प्रदेशमा ९ सय १० जना रहेका छन् ।

खास गरेर भारतसँगको खुल्ला सीमाना तथा बढ्दो जनघनत्व र रोग लुकाउने प्रवृत्तिका कारणले यस ठाउँमा रोगीको सङ्ख्या अधिक रहेको छ । मधेश प्रदेशको लालगढ कुष्ठरोग अस्पतालले कुष्ठ रोगको निःशुल्क उपचारका साथै औषधि, खाने बस्नेको व्यवस्था गरेको अस्पतालका उप निर्देशक डा. कृष्ण बहादुर तामाङ्गले जानकारी दिनुभयो ।

यसै गरि प्रदेश स्वास्थ्य निर्देशनालयले रोगको खोजतलासको कामकाज दुई जिल्लामा अभियानको रुपमा चलाएको निर्देशनालयका क्षय, कुष्ठ अधिकृत राजवीर यादवले जानकारी दिनुभयो । उहाँले यसमा संघीय सरकारको अझै साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा नेपालबाट कुष्ठरोग उन्मूलन गर्ने उद्देश्य लिएकाले जानकारी दिँदै त्यसका लागि थप कामकाज गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रवण नायकले सबैको साथ र सहयोगले मात्र कुष्ठ रोगलाई नियन्त्रण गर्न सक्ने भएकाले पत्रकारहरूले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतले कुष्ठ रोगबाट हुने अङ्गभङ्गबाट जोगिनका लागि समयमा उपचार गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button