तपाईँ सुन्दै हुनुहुन्छः

१० जना बिचौलिया पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले मालपोत र यातायात कार्यालयबाट सेवाग्राहीसँग विभिन्न बहानामा पैसा असुल्ने १० जना बिचौलियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राईम ब्रान्चको टोलीले आज अपराह्न मालपोत कार्यालय पर्सा वीरगञ्जको विभिन्न फाँटबाट सेवाग्राहीको काम गरिदिने बहानामा सेवाग्राहीलाई अनावश्यक रुपमा ठगी गर्ने ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा लेखापढीको काम गर्ने केही व्यक्तिहरूले सेवाग्राहीलाई दुःख दिएको गुनासो आएपछि प्रहरीले उनीहरुलाई आज मालपोत कार्यालयबाट नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताउनुभयो ।

पक्राउ पर्नेहरूमा शुभ नारायण महतो, सञ्जय चौहान, सन्तोष कुमार राउत, दिपक पटेल, सुशील कुमार साह, राम कुमार महरा, धर्मेन्द्र कुमार सहनी र हरिओम गुप्ता रहेका छन् ।

त्यसैगरी आजै यातायात कार्यालय लाइसेन्स शाखाबाट सेवाग्राहीलाई दुःख दिई पैसा असुल्ने धिरेन्द्र श्रेष्ठ र श्रीकृष्ण खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी बुढाथोकीले बताउनुभयो । दुवै कार्यालयबाट पक्राउ परेका बिचौलियाहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button