तपाईँ सुन्दै हुनुहुन्छः

सागका विजेता खेलाडी सम्मानित

काठमाडौं । किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ ।

सङ्घको आफ्नो १०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभयो ।

उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाले यस क्षेत्रको विकास गर्न सके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभयो । सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ ।

त्यसैगरी ह्यान्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रन्जना राई, भारोत्तोलनकी अस्मिता राई र सङ्गीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो ।

बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्रसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button