तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख पुरस्कार

जुम्ला । बढ्दो जातीय विभेद न्यूनीकरण गर्न मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप एक लाख पुरस्कार दिने भएको छ ।

नगरपालिकाको १२ औँ नगर सभाले जातीय विभेदविरुद्ध दलित नीति तथा नियमावली–२०७९ पारित गरी २० वर्ष उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहन स्वरूप एक लाख नगद उपलब्ध गराइने छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले जानकारी दिनुभयो ।

‘गरिबसँग नगर प्रमुख’ कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ५० लाख विनियोजित गरिएकोमध्ये १० लाख अन्तरजातीय बिहे गर्ने जोडीलाई पुरस्कार दिन छुट्टाइएको भामले बताउनुभयो ।

समग्रमा ५० लाखको ‘गरिबसँग नगर प्रमुख’ कार्यक्रम दलित मैत्री बन्ने नगर प्रमुख भामको भनाइ छ । उहाँका अनुसार जातका आधारमा हुने विभेद संविधानले पनि दण्डित मानेको छ । भविष्यमा हुन सक्ने जातीय विभेदमा जघन्य घटना हुन नदिन प्रोत्साहनको कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जातीय विभेद अन्त्य गर्न अघि सारेको यो कार्यक्रमलाई कर्णालीकै नमुना तथा उदाहरणीय कार्यक्रमका रुपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button