तपाईँ सुन्दै हुनुहुन्छः

रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार सुचारु गरिएको छ । बिश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा न्यूनीकरणका क्रममा बन्द गरिएको हाटबजार शुक्रबारदेखि सुचारु गरिएको हो । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा हरेक शुक्रबार लाग्ने हाट झण्डै दुई वर्षपछि सुचारु गराइएको हो ।

स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो ।

२०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार हाटबजार सुचारु गरिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो। हाटबजारमा विशेषगरी सागसव्जी, फलफुल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच सुरु भएको छ । बन्द हाटबजार सुचारु हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् । हाट बजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको छ ।

छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ । पालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापनका लागि गाउँपालिका आफैले हाटबजार सुरु गरेको थियो । कृषि उपज बिक्रीबाट किसानले आफ्नै गाउँमा आयआर्जन गर्न सक्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो।

हाट बन्द भएपछि सो स्थानमा कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन बनाइएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । किसानलाई लक्षित गर्दैै हरम्टारमा चिस्यान केन्द्र पनि निर्माणाधिन अवस्थामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button