तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिकाको नगर सभाको १२ औँ अधिवेशन सम्पन्न

५ अर्ब २६ करोडको बजेटका योजना तथा कार्यक्रम संशोधन

वीरगंज । वीरगंज महानगरपालिकाको नगर सभाको १२ औँ अधिवेशन आज सम्पन्न भएको छ । 

औद्योगिक तथा व्यापारिक शहर सुसंस्कृति, सभ्य हाम्रो वीरगंज महानगर भन्ने नाराका साथ आयोजित नगर सभाको उद्घाटन नगर प्रमुख राजेशमान सिंहले गर्नुहुँदै मधेश प्रदेशको एक मात्र महानगरपालिकाको रुपमा रहेको वीरगंजलाई समृद्ध बनाउँदै मुलुककै आर्थिक राजधानीको रुपमा स्थापित गर्न सबैको सामूहिक प्रयास हुनु पर्ने कुरामा जोड दिनु भएको छ । 

नगर सभाको १२ औँ अधिवेशनमा ११ औँ अधिवेशनले ५ अर्ब २६ करोडको बजेट अन्तरगत पास गरेको नीति कार्यक्रम तथा आर्थिक विधेयकलाई पुनः परिमार्जन गरी विकास निर्माण, सरसफाइ, लामखुट्टे नियन्त्रण लगायतका शीर्षकहरूमा बजेट थप गरि संशोधन गरेको छ । 

त्यसैगरी महानगरपालिकाको १२ औँ अधिवेशनले आम सञ्चार नियमन तथा प्रवद्र्धन समितिको ऐन कानुनलाई समेत संशोधन गरेको छ । अधिवेशनमा नगर उपप्रमुख इम्तियाज आलमले महानगरपालिकाको तर्फबाट न्यायिक समितिको अर्ध वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा महानगरपालिकाको न्यायिक समितिमा २८ वटा मुद्दा परेको र ती मध्ये ८ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । 

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगरपालिकाको आर्थिक विधेयक तथा कानुन संशोधन विधेयक प्रस्तुत गर्नु भएको थियो ।  

सो अवसरमा वीरगंज महानगरपालिकाका वडा सदस्यहरूको तर्फबाट आमोद यादवले निर्वाचन आयोगले वडा सदस्यलाई समेत समयमा चुनावको खर्च नबुझाएको भन्दै ३ लाख ५० हजार जरिवाना तोकेपछि सो मुद्दाको विरोधमा महानगरपालिकाको कानुनी सल्लाहकारले मुद्दा लडी सबै वडा सदस्यहरूको मुद्दाको टुङ्गो लगाउन माग गर्नु भएको थियो । 

यादवले वडा सदस्यको तर्फबाट विभिन्न सेवा सुविधा सहित ८ सूत्रीय माग प्रस्तुत गर्नु भएको थियो । वडा सदस्यबाट आएका मागको सम्बन्धनमा नगरप्रमुख राजेशमान सिंहले जवाफ दिँदै सङ्घीय र प्रदेशको कानुनले नबाझ्ने गरी स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेर उठाइएका माग पुरा गर्ने घोषणा गरेसँगै वीरगंज महानगरपालिकाको १२ औँ अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button