तपाईँ सुन्दै हुनुहुन्छः

कार्यालय प्रमुखले बिना कारण सेवाक्षेत्र र जिल्ला छाड्न नपाइने

अछाम । अछाम जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयहरूका कार्यालय प्रमुख एवम् अन्य कर्मचारीहरूले पर्याप्त आधार र कारण बिना जिल्ला छाड्न नपाउने भएका छ ।

सदरमुकाम मंगलसैनमा प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरूको बैठकले उक्त निर्णय गरेको हो । कार्यालयको कामकाज र अन्य विविध कारणले जिल्ला छाड्नु परेमा वा बिदामा बस्नुपर्ने भएमा कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारी अन्य कर्मचारीले कार्यालय प्रमुखलाई जानकारी गरेर मात्र जाने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यस्तै जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूले सार्वजनिक सवारी साधन जिल्लाभित्र बिदाको दिन सञ्चालन गर्नुपर्ने स्थिति भएमा र कार्यालयको कामकाजको लागि जिल्ला बाहिर जानुपर्ने भएमा अनिवार्य सवारी पास लिएर मात्र सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै सार्वजनिक बिदाको दिन कार्यालयको कामकाज विना सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने र सवारी पास लिन आउँदा प्राप्त आधार र कारण खुल्ने कागजात पेश गर्नु पर्ने भएको छ ।

जिल्लास्थित सम्पूर्ण कार्यालयहरूले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापनका कार्यहरू तदारुकताका साथ अगाडी बढाउने तथा आम नागरिकमा सुशासन कायम भएको अनुभूति दिलाउनको लागि सेवा प्रवाहका नवीनतम अवधारणालाई आत्मसाथ गर्ने निर्णय समेत बैठकले गरेको छ ।

कोभिड-१९ को संक्रमण नेपालमा कम हुँदै गए पनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरूमा सङ्क्रमणको नयाँ स्वरूप (भेरियन्ट) देखा परेकोले सार्वजनिक सेवा प्रवाह गर्ने क्रममा सम्पूर्ण कार्यालयहरूले मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने व्यक्तिगत सरसफाइ लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button