तपाईँ सुन्दै हुनुहुन्छः

नेलेका आगलागी पीडितलाई गाउँपालिकाले प्रतिघर पचास हजार दिने

सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।

आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपियाँ नगद राहत प्रदान गर्ने अध्यक्ष स्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार आंशिक क्षति हुने प्रति परिवारलाई २५ हजार रुपियाँ दिइने छ ।

मङ्गलबार साँझ वडा नं. १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पूर्ण रुपमा नष्ट भएका थिए । दुई घर आंशिक रुपमा नष्ट भएका छन् भने अन्य विभिन्न पसलमा समेत क्षति हुँदा करोडौँको नोक्सान भएको प्रहरीले जनाएको छ ।

उक्त घटना प्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दुधकोशी गाउँ प्रहरी, सोलुदुधकुण्ड नगरपालिका, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दा लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको गाउँपालिले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति कर्मा शेर्पाले नेलेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पूर्ण धनमाल गुमाएका चार परिवारलाई घटनास्थल पुगेर प्रतिपरिवार नगद १० हजार रुपियाँका दरले सहयोग गर्नुभएको हो ।

सहयोग प्राप्त गर्ने अग्नि पीडितहरूमा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका बुद्धिबहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतका छन् । आफूले देश तथा विदेशमा रहेकाहरूसँग सहयोगको पहल गर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button