तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरद्वारा निजी विद्यालयहरूको वर्गीकरण र शुल्क निर्धारण

वीरगञ्ज । स्थानीय तहमा देशमै पहिलो पटक वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका निजी विद्यालयहरूको वर्गीकरणसँगै शुल्क निर्धारण गरेको छ ।

गुणस्तरीय शिक्षाको नाममा अभिभावकहरूलाई ढाड सेकाउने गरी चर्को शुल्क लिने निजी विद्यालयहरूको महानगरपालिकाले वर्गीकरणसँगै शुल्क निर्धारण गरेपछि अभिभावकलाई राहत भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपालमै पहिलो पटक वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका ५८ वटा निजी विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको बताउनुभयो ।

महानगरपालिकाको निर्णयले आम सर्वसाधारण अभिभावकलाई राहत भए पनि अभिभावकको नाममा गठित सङ्घर्ष समितिले राम्रो कार्यको विरोध गर्दा विचार गर्नु पर्ने बताउनुभयो । उहाँले अभिभावकको नाममा कानुन विपरीत गठन भएको अभिभावक सङ्घर्ष समितिलाई महानगरपालिकाले मान्यता दिनुपर्ने कुनै कारण नभएको बताउँदै सङ्घर्ष समितिको नाममा महानगरको निर्णय भाँड्न खोज्नेहरूको सर्वसाधारण अभिभावक पछि नलाग्ने दाबी समेत गर्नुभयो ।

लामो समयको तयारी पश्चात् वीरगञ्ज महानगरपालिकाले वीरगञ्जका निजी विद्यालयहरूको वर्गीकरण गरेको हो । वीरगञ्जमा सञ्चालित निजी विद्यालयहरूले मनपरी शुल्क उठाइरहेको अभिभावकको गुनासोपछि त्यसलाई व्यवस्थित गर्न महानगरले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गरेको सूचना बिहीबार सार्वजनिक गरेको थियो ।

विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणका लागि महानगरले नगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । समितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शैक्षिक प्रशासन महाशाखा प्रमुख, शिक्षक अभिभावक समिति, शिक्षाविद् लगायत सदस्य हुनुहुन्थ्यो ।

पत्रकार सम्मेलनमा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले महानगरले विद्यालयहरूको वर्गीकरण नेपाल सरकारको विद्यालय वर्गीकरण निर्देशिकाको १ सय ३० भन्दा बढी सूचकलाई आधार मानेर गरिएको बताउनुभयो । सूचकअनुसार ८० भन्दा बढी अङ्क ल्याउने विद्यालयलाई ‘क’ वर्गमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button