तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा जग्गा कित्ताकाट आइतबारदेखि खुल्ने

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गत वर्षको फाल्गुण महिनादेखि रोकिएको कित्ताकाट अर्को सातादेखि खुल्ला हुने भएको छ ।

उपमहानगरपालिकाले जग्गाको वर्गीकरण सहितको निर्णय नापी, मालपोत तथा सम्बन्धित मन्त्रालयमा आजै निर्णय सहितको चिठ्ठी दर्ता गर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो । 

आज चिठी सहितको पत्र दर्ता भएपछि आइतबार वा सोमवारबाट कित्ताकाट शुरु हुने उहाँले बताउनुभयो । 

कूल २५ वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको जग्गाको वर्गीकरण वडा तहबाट विज्ञको सल्लाहअनुसार वर्गीकरण भएर आएपछि उपमहानगरपालिकाले कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । 

जग्गाको कित्ता काट रोकिएका कारण सर्वसाधारणलाई निक्कै समस्या भएको थियो  ।  

उपमहानगरपालिकाले गैर कृषि तथा कृषि गरेर दुई वर्गमा जग्गाको वर्गीकरण गरेको उपमहानगरपालिकाका प्रमुख साहले जानकारी दिनुभयो । जनकपुरधामको वडा नंं १ देखि १४ सम्मको जग्गालाई गैर कृषि क्षेत्रमा राखेको छ । वडा नंं १२ को केही जग्गाहरूलाई कृषि क्षेत्रमा राख्ने काम भएको छ । त्यस्तै जनकपुरधामको वडा नंं १५ देखि २५ सम्मको जग्गालाई कृषि क्षेत्रको जग्गाको रुपमा वर्गीकरण गरेको छ । 

यसैगरि ८ धुरभन्दा कम जग्गाको कित्ता काट नहुने यस अघिको निर्णयमा यथावत् रहेको पनि उपमहानगरपालिकाले जनाएको छ  । 

कृषि क्षेत्रमा २ कट्ठाभन्दा कममा जग्गाको कित्ता काट नहुने उपमहानगरपालिकाले जनाएको छ । जग्गाको कित्ता काट नभएका कारणले कतिपयको जग्गाको विक्री नभएका कारणले छोरा छोरीको अध्ययन अध्यापन गराउन तथा उपचार गराउनमा पनि समस्या हुने गरेको थियो ।

जग्गाको कित्ताकाट शुरु भएपछि जग्गाको विक्री वितरण बढ्ने भएको छ । खास गरेर जग्गाको विक्री वितरण रोकिएका कारणले उपमहानगरपालिकाको राजश्व असुलीमा कमी आएका थिए । 

नेपाल सरकारले नै जग्गाको वर्गीकरण गरेर मात्र कित्ता काट गर्नका लागि परिपत्र गरेपछि जग्गाको कित्ताकाट रोकिएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button