तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय क्षेत्र तातोपानीमा पत्रकार महासङ्घको साधारणसभा : पर्यटन प्रवर्द्धनको अपेक्षा 

जुम्ला  । जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । 

पर्यटकीय सम्भावना र स्रोतले दृष्टिले पनि जिल्ला आठ पालिका मध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठुलो ताल (गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् । 

जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । जुम्लाका पातारासी हिमाल, छुमचौर ज्युलो, चन्दनाथ मन्दिर, गुम्बा गुठिचौर पाटन, गिदिदह लगायत सयौँ पर्यटकीय गन्तव्य मध्ये एक आकर्षक पर्यटन गन्तव्य हो तातोपानी धारा । 

यही तातोपानी धाराकै कारण हिजो गाविसदेखि अहिले गाउँपालिकाको नाम तातोपानी रहन गएको छ । यो क्षेत्र तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा अवस्थी छ । कर्णाली राजमार्गको यात्रा गरी राजमार्गबाट २ मिनेट ओरालो झर्दा भेटिन्छ । 

माइनस तापक्रममा बग्ने तिला नदीको छेउमा अवस्थित तातोपानी धारा बाह्रै महिना तातोपानी बग्छ, अझ हिउँदको समयका लागि निकै उपयुक्त मानिने उक्त तातोपानीमा दैनिक ४ सयदेखि ५ सय सम्म आन्तरिक पर्यटक आउने गरेका छन् । मङ्सिरदेखि माघ सम्मको तीन महिलालाई सिजनका रुपमा लिने गरिन्छ । 

आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको तातोपानी प्रचार प्रसारको कमी, पूर्वाधार र व्यवस्थापनको अभावले पालिकाले अपेक्षित लाभ लिन सकेको छैन । बारुद गन्हाए जस्तो गन्ध आउने उक्त पानीमा नहुँदा हाडजोर्नी, बाथ रोग, नसा रोग, ग्यास्ट्रिक, पेट दुख्ने लगायतका रोगको निवारण हुने विश्वासले पनि तातोपानी धारामा पर्यटकको घुइँचो लाग्ने गरेको  गरिन्छ । तर पूर्वाधार अभाव,प्रचारको कमीले भने तातोपानी अझै गुमनाम जस्तै देखिन्छ । 

पालिका समृद्धिको आधार मानिने तातोपानीमा पर्यटकको आगमन वृद्धि गर्न गुरुयोजनाका माध्यमबाट बाह्य र आन्तरिक लगानी भित्राउन जुटाउन आवश्यक छ । 

पर्यटन प्रवर्द्धन गर्न धारामै महासङ्घको साधारणसभा 
नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको १९औँ वार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै तातोपानी धारामा सम्पन्न भएको छ । 

महासङ्घ स्थापनाको इतिहासमा पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर तातोपानी–२ स्थित पर्यटकीय क्षेत्र तातोपानी धारामा साधारण सभा भएको हो ।

तातोपानीको पर्यटन प्रवर्द्धन, पर्यटकको आगमनमा वृद्धि, प्रचार प्रसारमा जोड दिन र समृद्ध पालिका बनाउने उद्देश्यले तातोपानी धारामा महासङ्घ साधारणसभा गरिएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गुमनाम गिडिदहको प्रचारमा जुम्ली मिडियाले उल्लेखीय भूमिका खेल्यो । अब तातोपानीको पर्यटन प्रर्बद्धनमा मिडियाले उजागर गर्ने छ । साधारण सभाले पर्यटन प्रर्बद्धनमा कोशे ढुङ्गा सावित हुने विश्वास छ ।”

आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको तातोपानीको विकासमा राज्यको ध्यान केन्द्रित गर्न तथा पर्यटक वृद्धि गर्नेमा आशा पलाएको स्थानीय धनबहादुर बुढाले बताउनुभयो । 

संघ प्रदेशबाट उपेक्षा रहेको तातोपानीका सम्भावनाले अब अवसर पाउने र लगानी जुट्ने उहाँको विश्वास छ । 

तातोपानी समृद्धिका मार्ग भनेकै पर्यटन हो । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो, “गिडिदह र तातोपानीमा पूर्वाधार निर्माण, प्रचार प्रसार गरी पर्यटक भित्राउने सकिने सम्भावना छ । पर्यटन प्रवर्द्धनका लागि संघ प्रदेशबाट लगानी जुटाउन पहल भइरहेको छ ।”

विकास निर्माण तथा अन्य जनहितका काममा महासङ्घसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइने समेत अध्यक्ष चौलागाईले उल्लेख गर्नुभयो । 

गत असोजमा गरिएको गिडिदह सम्मेलनबाट गिडिदहको प्रचार प्रसारमा मिडियाले खेलेको अप्रत्यासी भूमिकाको प्रशंसा गर्दै अब तातोपानीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उजागर गर्न कलम चल्ने विश्वास व्यक्त गर्नुभयो ।

सात बुँदे घोषणापत्र जारी 
महासङ्घको आयोजना तथा तातोपानी गाउँपालिका जुम्लाको सहयोगमा सम्पन्न भएको वार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलनले ७ बुद्धे घोषणा पत्रसमेत जारी गरेको छ । 

जुम्ली पत्रकारहरूको हक, हित संरक्षण, पेशागत सुरक्षाको लागि पहल, पत्रकारको सुरक्षाको सुनिश्चितता, राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील कर्णालीका स्टेञ्जर पत्रकारलाई तलबी बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ । 

त्यस्तै, दुर्गम क्षेत्रका पत्रकारहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रममा जोड दिन र स्थानीय सञ्चार माध्यमको लोककल्याणकारी विज्ञापनमा दुर्गमका सञ्चार माध्यमलाई दोब्बर बढीसहित प्राथमिकता दिने मागसहित ७ बुँदे घोषणापत्र जारी गरिएको महासङ्घका सचिव मानदत्त रावलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button